तीजको रमझमका साथ् क्षेत्री समाज यूकेको वार्षिक भेला सम्पन्न
लन्डन । क्षेत्री समाज यूकेले विशेष कार्यक्रमसहित वार्षिक भेला गरेको छ । आइतबार फार्नबरोको स्यामुएल कोडी स्पोर्टस् कलेज हलमा सम्पन्न भेलामा समाजका ट्रष्टी, सल्लाहकारसहित बेलायतको क्षेत्री समुदायका तीन सय भन्दा बढीको सहभागिता रह्यो । नेपाली दूतावासका मिलिटरी एटाची रत्न बहादुर गोदार, नायक निखिल उप्रेतीलगायत अन्य विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
समाजका अध्यक्ष यज्ञ क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष महेन्द्र केसीले कार्यक्रमको संयोजन तथा व्यवस्थापनसम्बन्धि जिम्मेवारी लिएका थिए ।
समाजका महासचिव दीर्घ केसीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष श्रीमती श्रद्धा थापाले स्वागत मन्तव्य दिएकी थिइन् । विगतका कार्यक्रममा बढी भाषण हुने भएकाले यसपटक बोल्ने वक्ता सिमित गरिएको र कार्यक्रमको बीचमा सांगीतिक प्रस्तुति राखिएको केसीले बताए ।
कार्यक्रममा पूर्व अध्यक्ष एवम् सल्लाहकार प्रेम खड्का, सल्लाहकार तथा गैर आवासीय नेपाली संघका उप महासचिव रामशरण सिम्खडाले शुभकामना मन्तव्य राखेका थिए । समाजमा उत्कृष्ट काम गरेका विभिन्न व्यक्तिहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । यसैगरी समाजमा आजीवन सदस्य बनेका थप दश परिवारलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य सहभागी थिए । कार्यक्रमको पहिलो चरणमा औपचारिक सत्रलाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि राजदूत आचार्यले विभिन्न जातजातीबीच समन्वय गरेर अघि बढ्न सुझाव दिए । स्थापनाको लामो इतिहाँस बोकेको क्षेत्री समाजले राम्रो काम गर्नेलाई थप हौसलास्वरूप सम्मान तथा कदरपत्र प्रदान गरेकोमा प्रशंसा गरे।
यसैगरी क्षेत्री समाजका अध्यक्ष यज्ञ क्षेत्रीले सामजले गरेको कामका साथै परिआएको बखत सहयोगको लागि आफूहरु तयार रहेको बताए । देशको लागि जीवन बलिदान दिने अमरसिंह थापालगायत पितृ र पुर्खालाई स्मरण गर्दै पुर्खाको मान सम्मानलाई निरन्तरता दिने दायित्व आफुहरुमा रहेको बताउंदै सम्पूर्ण क्षेत्रीहरुले एकबद्ध हुनुपर्ने बताए । क्षेत्रीहरुको इतिहाँस र परम्परालाई संरक्ष्ण गर्न र पुस्तान्तरण गर्न सम्पूर्ण क्षेत्रीहरु एउटै छातामुनी रहनुपर्ने उनले बताउंदै कार्यक्रमको पहिलो चरणको समापन गरेका थिए ।
औपचारिक सत्रको समापनपछि विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । नेपाली नारीहरुको हरितालिका तीज नजिक आएको हुँदा कार्यक्रम पूर्ण रुपमा तीजमय बनेको थियो । विभिन्न तीज गीतमा दिदीबहिनी तथा दाजुभाइहरुले मनोरंजन गरेका थिए । विशेषगरि युवा पुस्तालाई समेट्ने उद्देश्यले स्थानीय दाजुभाइ ब्यान्डका गायक अमित मगरको प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो ।
त्यस अवसरमा लोकदोहोरीका राष्ट्रिय कलाकारहरु अस्मिता डल्लाकोटी, विशाल रायमाझी, चन्द्रा कर्की, राजन कार्की लगायतले सांगीतिक प्रस्तुति गरेका थिए । कार्यक्रममा नेपालबाट आएकी मोडल एवम् नृत्यांगना रीना थापामगरले आकर्षक नृतयहरु देखाएकी थिइन्। सो अवसरमा स्थानीय कलाकारहरु प्रिसा खत्री र सरोज जीसीले पनि आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्राम्मा विभिन्न किसिमका आकर्षक पुरस्कारसहितको ‘लक्की ड्रा’ पनि राखिएको थियो । ‘लक्की ड्रा’ को संयोजन महिला संयोजक माया केसीले गरेकी थिइन् ।
Related Blogs
- क्षेत्री समाज यूके (CSUK) को सातौं कार्यसमिति मतदाता नामावली प्रकाशन
- क्षेत्री समाज यूकेद्वारा एक कार्यकाल एक परियोजना अन्तर्गत च्यारीटी कार्यक्रम गरिने
- क्षेत्री समाज यूकेका आजीवन सदस्य रवीजंग लामिछाने सुप्रवल जनसेवा श्री तृतीयद्वारा सम्मानित
- पुस्तकालय निर्माणको लागि क्षेत्री समाज बेलायतको आयोजनामा लन्डन कविता कन्सर्ट सीजन गरिंदै